मंसिर १५ गते देखि चैतसम्म पोखरामा ‘भैरव नृत्य’ प्रदर्शन गरिने

-



     सफल आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित



पोखरा, १२ मंसिर । भैरब सांस्कृतिक संरक्षण समिति पोखराले मंसिर १५ बिहिबारबाट पोखरामा भैरब नृत्य प्रदर्शन गर्ने तयारी पूरा भएको जनाएको छ ।

समितिले आज पोखरामा पत्रकार सम्मेलन गरेर भय र दण्डका देवताको रुपमा हिन्दू र बौध्द संस्कृतिमा भैरबको पूजा हुदै आएको जानकारी दिदैं भैरब नृत्य प्रदर्शन २०७९ साल चैत्र महिनाको अन्त्यसम्म चल्ने समितिका अध्यक्ष तिर्थमान प्रधानाङ्गले बताए ।

तन्त्रोक्त विधिबाठ पुजन गरिने भैरबका विभिन्न रूप रहेका छन् । भैरवको पुजनबाट भय हराउनुका साथै दुःख कष्ट निवारण हुने जन विश्वास रहेको छ ।

नेवारी संस्कृतिमा भैरव नृत्यको पुरानो परम्परा रहेको छ । गण नृत्य भैरव नृत्य लगायतका नामले परिचित नृत्यहरु काठमाण्डौं उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिदै आएको पाइन्छ । पोखरामा यो नृत्य २५० वर्षभन्दा अघि देखि यहाँको नेवार समुदायको तत्वावधानमा हुँदै आएको संस्कृतिकर्मि तीर्थ श्रेष्ठले बताए ।

शुरुमा यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा र वि.सं २०२९ साल बाट प्रत्येक ६ वर्षको अन्तरालमा प्रदर्शन हुदै आएको छ । भैरव, काली, इन्द्रायणी, वराह, कुमारी, विष्णुवी, गंगाजु, गणेश, दागिनी, भूज्या र कवाङ गरि बात पात्रको मुखुण्डो लगाएर नाचिने यो नृत्य शास्त्रीय भजनमा आधारित रहेको छ । राग कौशिक, राग ज्यानट, राग मालवा, राग सारंगा, राग तोडी, राग मालश्री लगायतको रागहरु तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन र अनरतीको गायनमा आधारित छ ।

नर्तकहरु नृत्य गर्ने गर्दछन् । मृदङ्गा, झ्याली, सहनाइ, मुहालीको वादनका माध्यमले संगीत सिर्जना गरिने नृत्यमा सामान्यतया १२ नर्तक, ३० गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयंसेवक हरन्छन् । अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरि १०६ जनाको सहभागिता रहने बताईएको छ ।

शास्त्रीय संगीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिइन्छ । नृत्यका भजनहरुमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएको कारण यो नृत्यको उद्गम रणजीत मल्लकालिन भक्तपुरमा भएको अनुमान गर्न सकिन्छ ।

भैरव नृत्यलाई सामान्य मनोरञ्जनात्मक नृत्यका रुपमा लिने गलत हुन्छ । नृत्य प्रदर्शन पूर्व झण्डै २ महिना लामो नृत्य, बाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यस वर्ष प्रशिक्षणमा करिव ३५० भन्दा बढि कलाकारहरु सहभागी भएका थिए । त्यसैगरि वाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी थिए ।

प्रशिक्षणमा भएको उत्साहजनक सहभागिताबाट यस नृत्यले भविष्यमा समेत निरन्तरता पाउने विश्वास सिर्जना भएको छ । नृत्यका लागि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाताहरुबाट प्राप्त भएका अध्यक्ष प्रधानाङले बताए ।

भैरब नृत्यलाई व्यवस्थित रुपमा प्रदर्शन गर्न समितिवाट विभिन्न उपसमितिहरु गठन गरिएको छ । पोखराको पुरानो यस सांस्कृतिक सम्पदाकाप्रति सबै समुदायका पोखरेलीहरुको निरन्तर सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा गरिएको छ । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा नृत्य अंकित हुलाक टिकट प्रकाशन गरेको थियो ।

पोखराका वरिष्ठ संस्कृतिकर्र्मी स्व. सर्वज्ञमान प्रधानाङ्ले लामो कालखण्ड नृत्यको गुरु र समितिको अध्यक्षको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । स्व. कृष्णवहादुर वैद्यले पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाएका थिए । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग रहेका छन् ।

उपगुरु मेघवहादुर ताम्राकार रहेका छन् । यो नृत्यमा उपयोग गरिने मुखुण्डोहरुलाई तन्त्रोक्त विधिवाट साक्षात शक्तिको जागरण गराईने हुनाले यो तन्त्रमा आधारित भएको मानएिको छ । यसमा सहभागी हुने नृत्य कलाकारहरुमा नृत्य अवधिमा शक्ति संचार हुन्छ । यसरि शक्ति जगाउने काममा धर्मराज गुभाजु, पुण्यराज गुभाजु, कान्तिराज गुभाजु, विविध मंगल गुभाजू एवं २०७२ मा डा.सिध्दिवीर कर्माचार्य सम्मिलित थिए ।

यस वर्ष तन्त्र सिद्धि गर्ने कार्यमा ललितपुरका हिरा रत्न गुभाजू संलग्न भएका छन् । २०७९ मंसिर १५ गते बिहिबारबाट सार्वजनिक रुपमा प्रदर्शन प्रारम्भ हुनेछ । २०७९ मंसिर १५ गते नाटेश्वरको सम्मान स्वरुप भिमसेन मन्दिर, भिमसेनटोलमा प्रदर्शन भएपछि क्रमशः १६ गते गणेश मन्दिर, गणेशटोल, १७ गते शनिवार सरश्वती मन्दिर, तेर्सापट्टी, १८ गते आईतवार विन्ध्यवासिनी मन्दिर, विन्ध्यवासिनी प्रावण १९ गते सोमवार गणेश मन्दिर, भैरवटोलमा र त्यसपछि २२ गते बिहिबार गुरुको सम्मान स्वरुप गुरु कृष्णदेव प्रधानाङ्गयूको निवास भैरवटोलमा नृत्य प्रदर्शन हुनेछ ।

तत्पश्चात नृत्य आमन्त्रण गर्ने श्रध्दालुभक्तजनहरुकोमा गएर प्रदर्शन गरिने भएको छ । नृत्य प्रदर्शन २०७९ चैत्र मसान्तसम्म रहने छ । एउटा नृत्य प्रदर्शनका लागि ८० हजार रुपैयाँ खर्च हुने समितिले जनाएको छ । व्यक्तिले बोलाएको खण्डमा ३५ हजार तथा सामूहिक रुपमा प्रदर्शनका लागि बोलाए ५० हजार खर्च लाग्ने समितिले जनाएको छ ।

यसैबीच, भैरब टोलमा निर्माण भईरहेको भैरब मन्दिरको निर्माण कार्य आगामी ६ महिनासम्म सकिने समितिले जानकारी दिएको छ । कोभिड १९ का कारण निर्माण कार्य पछि धकेलिएको हो । भक्तपुर पुनःनिर्माणको चरणमा रहेकार त्यहाँको ईट आउन ढिलाई पनि भएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए ।

सुरेन्द्रमान बिजुक्छेले सञ्चालन गरेकाे कार्यक्रमकाे अध्यक्षता समितिका अध्यक्ष तिर्थमान प्रधानाङ्गकाे अध्यक्षतामा भएकाे थियाे ।