समानुपातिकतर्फ १ करोड मतगणना: एमालेको अग्रता कायमै

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४२ हजार ९ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कुल मतदाता १ करोड ७९ लाख ८ हजार ८ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (१ करोड ९ लाख ७३ हजार २७) मत खसेकामा अब करिब ९ लाख मतगणना बाँकी रहेको देखिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ४ सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १ सय ७५, जनता समाजवादी पार्टी नेपालले ३ लाख ९६ हजार ८ सय ३९ र जनमत पार्टीले ३ लाख ६० हजार ६ सय ६९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्रअनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ । दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मतदानमा भएको विवादबारे चाँडै निकास दिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।