तनहुँमा झोलुङ्गे पुलले छोटियो दूरी

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



तनहुँ, १४ मंसिर । मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ ।

दैनिक दुई वडाका बासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताए । आर्थिक वर्ष २०७६-७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि बिजुलीको हाइटेन्सन लाइन र कोरोनाका कारण २ वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो ।

एन टाइपको सस्पेन्सन किसिमको करिब २ सय ८२ मिटर लामो झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँले सो पुल बनाएको हो ।

२ करोड ६४ लाखमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिए । पिजन हिल होटल सञ्चालकसमेत रहेका विवेक सापकोटाले दुई वडालगायतका करिब दश हजार बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताए । पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत  मिलेको व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोलले जानकारी दिए ।