खोइ सरकार ? खोइ जनता ?

-



     मनोज अधिकारी    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



सर्वत्र राजनीति छ, शासन कतै छैन । टोल टोलमा पार्टी छ, सरकार कहीं छैन । गाउँपिच्छे नेता छन, समाजको नेतृत्व गर्ने अगुवा छैनन । घरघरै कार्यकर्ता छन्, जनता कोही छैनन ।राजनीतिले केन्द्रदेखि गाउँसम्म हरेक वर्ग, समुदाय र निकायलाई पक्ष विपक्षमा विभक्त गरेको छ । सिंगो समुदायको हितमा काम गर्ने निष्पक्षता कसैमा छैन । समग्रमा तमाम विकृतिले पुरै देश अशक्त छ । देशलाई सशक्त ढंगले चलाउन सक्ने आशालाग्दो कोही छैन ।

वर्षौंसम्म ऐना पुछिरहें तर मैलो मेरो अनुहारमै रहेछ भन्ने चेत हामीमा अझै आइसकेको छैन । देशको मुहार फेर्न सकिएन भनेर चिन्ता गर्नेहरु धेरै छन् । समयअनुसार चल्न र आफुलाई बदल्न नसकेकोमा कसैलाई चिन्ता छैन । हामी कहाँ चुक्यौं भन्ने हेक्का छैन । पुरानै राजनीतिक शैलीमा अझै अल्झिएका छौं ।

परिवर्तनका लागि कैयन् संघर्षहरु भए । केही व्यवस्था बदलिए । अवस्था भने जहिलै उस्तै रह्यो । हो, हामीले व्यवस्था बदल्यौं तर अवस्था बदल्न सकेनौं । किनभने हामीले युग सुहाउँदो राजनीतिक सोच बदल्न सकेनौं ।

तमाम् राजनीतिक परिवर्तन सधैं सत्तामा पुग्नकै लागि सिमित भए । परिवर्तन हाम्रा घर आँगनसम्म पुग्न सकेनन् । सहरदेखि दुरदराजको गाउँसम्म हरेक कुरामा राजनीति पुग्यो । तर सुशासन कहीं पुगेन । किनभने हामीले अझै ३०, ३५ वर्षदेखि दल र सत्ताको नेतृत्वमा रहेका पुराना नेता बदल्न खोजेनौं । खिया लागेका फलामबाट समृद्धिको जग हालेर उचाई लिने अभिलाषा पाल्न छोड्दै छोडेका छैनौं ।

उही पुरानै नेताका उस्तै भाषण र उही नेतृत्वका उस्तै शैलीबाट मुलुकको गति नाप्ने भूल गरिरहेका छौं । २०, २५ वर्षदेखि एउटै भाषण र एउटै बोली लिएर हिंडेका नेतामा हामीलाई अझै आशा छ । दोष हाम्रा नेतामा होइन, हाम्रो आँखामा छ । हाम्रो चेतनामा छ । हाम्रो सपना बुन्ने तौर तरिकामा छ ।
नेताहरुको राजनीति दशकौंदेखि जनताको नाम र जीवन दान भजाएर चलेको छ ।

हामी नबदलिएसम्म अझै यस्तै खेल चलिरहने छ । राजनीतिले हामीमा परिवर्तन किन ल्याएन भनेर निर्मम आलोचना गरिएको छैन । अझै आत्मसमीक्षा गर्न थालिएको छैन । हो, जनचाहना र संघर्षबाट छोटो अवधिमा नयाँ नयाँ व्यवस्था बदलिएको हो । व्यवस्था अनुसार दल र नेता बदल्न हामी असफल भएका हौं । त्यसको फाइदा पुरानै दल र पुरानै नेताले पटक पटक हामीमाथि गलत ढंगले शासन गरेर उठाइरहे । अझै जनताको नाम जपेर राजनीति गर्न छोडेका छैनन् । विदेशमा लाखौं युवाको काम बेचेर भित्र्याएको रेमिटान्समा भ्रष्टाचार गर्न डर मानेका छैनन् ।किनभने हामी कोही जनता छैनौं, केवल राजनीतिक कार्यकर्ता छौं ।

हामी दलको सदस्यता लिएका वा नलिएका अघोषित रैती हौं । नेताले भनेपछि त्यही हो भन्ने बुझ्छौं । हामी आफैं काम गर्दैनौं । नेताले दिएको काम गर्छौं । पार्टीले आदेश दिएपछि जिन्दावाद् र मुर्दावाद् भन्दै उफ्रिन्छौं । हामीलाई के सही, के गलत भन्ने थाहा छ त ?अँहं, पार्टीले भनेपछि सही पनि गलत हो । गलत पनि सही हो । किनकि हामी जनता होइनौं, पार्टीका पाल्तु कार्यकर्ता हौं । हाम्रो विकेकको भाँडाेमा दलको बिर्काे लगाएका छौं । आफ्नो निर्णयअधिकार दलका नेतालाई बुझाइसकेका छौं । त्यसैले के सही वा गलत हामी छुट्याउन असमर्थ छौं ।

हामीलाई विधि र नियम मिच्न बेला बेलामा यिनै नेता नभई हुँदैन । भ्रष्टाचार गरे जोगाउन ससुरा नेता चाहिन्छ । जुवा खेलेर पक्राउ परे छुटाउने छिमेकी नेता चाहिन्छ । कसैलाई पिटेर घाइते बनाए पक्ष लिइदिने दाइ नेता चाहिन्छ । गाडी ठोकेर ज्यान मारे मामा नेता चाहिन्छ । बलात्कार गरे भिनाजु नेता चाहिन्छ । चोरी गरे काका नेता चाहिन्छ । सबैभन्दा धेरै चुनावको बेला आफ्नो जग्गामा बाटो खनिदिने, गोजीमा पैसा हालिदिने र खसी काटेर खुवाउने नेता चाहिन्छ ।

यस्ता नेता हामीलाई मर्दा पर्दा ब्यवहार चलाउन बारम्बर चाहिरहन्छ । यसैका लागि जनता हुने सामर्थ हामीले गुमाउनै पर्छ । कुनै एक दलको अन्धसमर्थक कार्यकर्ता वा नेताको झोले बन्नै पर्छ । जनता हुँदा पो गुण र दोष औंल्याउन सकिन्थ्यो । राम्रो वा नराम्रो छुट्याउन सकिन्थ्यो । जबसम्म जनता नभएर यस्ता कार्यकर्ता र झोले बन्दै हिंड्छौं तबसम्म नेताले हामामाथि यसैगरी शासन चलाउने छन् । किनकि हामी उनीहरुका कुनै कुकर्म विरुद्ध बोल्ने हैसियत राख्दैनौं ।

तिनै नेताको बलमा अड्डा, अदालत र चौकीबाट फर्किएपछि चिया गफमा विधि र नियमका ठूला कुरा गर्छाैं । देश बनेन भन्न थाल्छौं । अनि कर्मचारीले टेरेन, प्रहरीले हेरेन, अदालतले न्याय दिएन, प्रशासनले गरेन भन्ने हामी नै हुन्छौं । जब चुनाव आउँछ असल र खराब नछुट्याई झण्डा बोकेर दगुर्छौं । विकासका योजना नभएका, नीतिगत चेत हराएका र नैतिकता बेचेका उही पुराना नेतालाई बोक्छौं ।

यही कारण हो, व्यवस्था फेरिएसँगै धेरै पार्टीले सरकार फेरिरहन पाए । तिनै नेताले पटक पटक हेपिरहन पाए । सधैं आश्वासनको झुटो ललिपप खुवाए । हाम्रै भोटले ती पटक पटक सांसद् र मन्त्री भए । उच्च पदमा पुगेपछि तिनैले विकास र सुशासनको नारा पोलेर खाए ।

गरिबको नाममा राजनीति गरेको भन्नेहरुले ठूल्ठूला भ्रष्टाचारकाण्ड मच्चाए । हिजो अरुसँग पैसा मागेर हिंड्नेले पुस्तौंपुस्ता पुग्ने धन कमाए । चप्पल लगाएर संसद् छिरेका नेताले चोक चोकमा महल ठड्याए । हामी अझै बोल्दैनौं । नेताका ती अकुत आर्जनप्रति प्रश्न गर्दैनौं । नेताले गरिबको मुहार फेरेनन् आफ्नै चोला फेरेर हिंडे । समृद्ध देशको सपना देखेका हामी विपनामा आँखा खोपेर बसेका छौं । हामी आफैं नफेरिएसम्म न कुनै दल फेरिन्छ न कुनै नेता फेरिन्छ । यथार्थ के हो भने, यस्तो स्थिति नफेरिएसम्म हाम्रो अवस्था पनि फेरिन्न । लेखेरै राख्नुस्, यो असम्भव छ ।

तपाईं हामी बेरोजगार हुनु नेताका लागि राजनीति गर्ने गतिलो बहाना हो । ऊ रोजगारी दिन्छु भन्छ । पैसाको प्रलोभन दिन्छ । विदेश पठाउँछु भनेर पासपोर्ट लिन्छ । रातारात म्यानवापर किन्छ । शक्ति के हो छिटै चिन्छ । अनि युवा जनशक्ति विदेश बेचेर हिंड्छ । विदेशबाट पठाएको रेमिटान्समा उसैले पजेरो किन्छ । यसरी युवाको पीडा नेताका लागि चुनावी शक्ति र भोट बैंक बनिरहन्छ । आफु जित्न चुनावमा बेरोजगार युवालाई दुरुपयोग गरिरहन्छ । के अहिलेसम्म भएको यही होइन ? हामीले पुरानो मनस्थिति नधोएसम्म अझै हुँदै जाने पनि यही हो ।

देशको मुहार फेर्न हामीले जीवन बलिदानसम्मका संघर्ष गरेका हौं । न्याय, समानता र विधिको शासनका लागि पटक पटक पुरानो व्यवस्थाविरुद्ध लडेका हौं । ७० वर्षदेखिको यस्ता संघर्षले अझै मुलुकको स्पष्ट मुहार देखाउन पाएको छैन ।एक सय ४ वर्षे जहानियाँ राणा शासन फालेको हो । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था ढालेको हो । रगतको आहालमा १० वर्षे सशस्त्र युद्धको कहालीलाग्दो कहर झेलेको हो । २ सय ४० वर्षे राजसंस्थाको जग उखेलेको हो ।

छोटो अवधि नै मान्नु पर्छ, एउटा मुलुकका लागि छ दशकभित्रै यत्रो परिवर्तन आउनु चानचुने कुरा होइन । तर हामीले यसको उचित व्यवस्थापन र दीर्घकालिन योजना सोच्नै सकेनौं । आफ्नो भूगोल र हावापानी सुहाउँदो व्यवस्था भेटेनौं । पर्याप्त अध्ययन र बहस नगरि विदेशी मोडल नक्कल गर्नु ठूलो भुल हो ।

आफैंमा एउटा प्रान्त जत्रो भूगोल नभएको मुलुकलाई राजनीतिक भागबण्डा पुर्याउनकै लागि सात प्रदेश र आठवटा सरकार बनाउने सोच आफैंमा घातक हुँदै हो । यी सातै प्रदेश र आठ सरकार गठनका लागि अहिले जे जति सांसद्, मन्त्री र कर्मचारी पालिएको छ, यो हाम्रो लागि भिमकाय संरचना हो । कुनै हालतमा यति सानो अर्थतन्त्र भएको मुलुकले धान्ने यो संयत्र हुँदै होइन ।
बाह्य बजेट र ऋणले यसलाई लामो समय बचाउन सक्दैन । हामीसँग खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको आफ्नै उत्पादन छैन । चामल, पिठोदेखि नून र सुनसम्म पुरै अरु मुलुकमा निर्भर भइसकेका छौं । हरेक घरको चुलो र औषधीमुलो विदेश गएका युवाको रेमिटान्सले चलेको छ । वैदेशिक ऋणले मुलुकको डरलाग्दो दुलो जेनतेन टालेको छ । यी दुवै दीर्घकालिन र भरपर्दाे स्रोत होइनन् भन्ने नबुझेका कोही छैनन् ।

कोरोना महामारीले यतिबेला अर्थतन्त्र संकटमा पर्दैछ । थोर बहुत रहेको रोजगारी र उत्पादनको क्षेत्र चौपट बनेको छ । वर्षात्को बाढी र पहिरोले दिनहुँ धनजनको क्षति थपेको छ । विपत्तिले यही बेला गास, बास र कपास खोसेको छ । गरिबले भोकभोकै मर्ने दिन आएको छ । संभ्रान्त वर्गले गरिबको घर चिनेको छैन । गोठ भनेर आगो झोसेको छ । सत्ता केन्द्रीत राजनीतिमा उनीहरुको भ्याईनभ्याई छ । दिनहुँको कोठे बैठक पद बाँडफाँडमा सिमित छ ।

एक छाक खान नपाएर आत्महत्या गर्नु कसैको रहर होइन । झरीमा ओत लाउने छानो नपाउँदा गरिबले गर्नु के ? यस्तो बेला पीडितको आँगनमा पुग्नु पर्ने हाम्रो सरकार छैन । दुःखको बेला म छु भन्ने नेता छैन । किनभने दैवी विपत्तिमा काम गर्ने योजना भएका हाम्रा नेता छैनन् । आपतका बेला राहतको नीति बनाउने नेतृत्व छैन । त्यसैले हामीसँग सरकार छैन । हामीसँग बोल्ने तागत छैन । किनभने हामी जनता छैनौं । केवल कार्यकर्ता मात्रै छौं ।

हाल बोस्टन, अमेरिका ।