पोखरामा भेटिए ९ कोरोना संक्रमित

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



पोखरा, २१ साउन । पोखरामा थप ९ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु सबैजना पुरुष हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार उनीहरु वर्ष १७ देखि ५७ सम्मका छन् । तीमध्ये वर्ष १७ का २ जना हुन् भने अरु वर्ष २०, २१, २३, २७, ३०, ४५ र ५७ का छन् । उनीहरु कुन वडाका हुन् भन्नेबारेमा खुलाइएको छैन ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले पुष्टि गरे । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले बताए ।

योसँगै कोरोना संक्रमितको कुल संख्या गण्डकीमा १ हजार ५ सय ५२ पुगेको छ । संक्रमितमध्ये १ हजार ३ सय ५४ जना निको भएका छन् । यस्तै ४ जनाको मृत्यु भएको छ ।