गण्डकी स्वास्थ्य मन्त्रालयद्वारा प्रतिजैविक प्रतिरोध (AMR) सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाबीच अन्तरक्रिया

-



     सफल आवाज    
     मंसिर ८ गते २०८३ मा प्रकाशित



पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रतिजैविक प्रतिरोध (AMR) सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रम पाेखरामा सम्पन्न भएको छ ।

“एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम” भन्ने मूल नाराका साथ मंसिर ८ गते पोखरामा आयोजित कार्यक्रम स्वास्थ्य मन्त्री नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता तथा मन्त्रालयका महानिर्देशक खिम बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रतिजैविक प्रतिरोधको बहुआयामिक पक्षमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन तथा AMR फोकल पर्सन डा. शरदचन्द्र बरालले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले अस्पतालमा जटिल संक्रमणको उपचार चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।

प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक मनमोहन मिश्रले प्रदेशस्तरमा संक्रामक रोगको निगरानी, नियन्त्रण तथा प्रतिजैविक प्रतिरोधको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले गरिरहेका नीतिगत प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो ।

यस्तै, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. किरण पाण्डेले पशुपालन तथा कृषि क्षेत्रमा एन्टिबायोटिकको अनियन्त्रित प्रयोगले पशु स्वास्थ्यसँगै खाद्य शृङ्खलामार्फत मानव स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको उल्लेख गर्नुभयो ।

प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी अधिकृत साजन बरालले औषधि बिक्री वितरणको नियमन, गुणस्तरीय औषधिको आपूर्ति तथा फार्मेसीबाट हुने जथाभावी एन्टिबायोटिक वितरण रोक्न कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्व स्वास्थ्य संगठन (WHO) नेपालका डा. समिर पराजुलीले प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै ‘एक स्वास्थ्य नीति’ (One Health Policy) को प्रभावकारी कार्यान्वयन र सही सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका निर्णायक हुने धारणा राख्नुभयो ।

प्राविधिक सत्रपछि विज्ञहरूले सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूका जिज्ञासाको सहजीकरण गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरूले एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्न मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रको एकीकृत सहकार्य तथा व्यापक जनचेतना अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए ।

उक्त कार्यक्रम अमेरिकी सरकारको सहयोग प्राप्त ‘स्ट्राइड्स’ (STRIDES) र विश्व स्वास्थ्य संगठन (WHO) नेपालको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा सञ्चालन गरिएको मन्त्रालयका कार्यक्रम अधिकृत तथा फाेकल पर्सन बुद्धिसागर अधिकारीले जानकारी दिनुभयाे ।