पहिरोले तीन परिवार विस्थापित

-



     सफल आवाज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित



बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा अविरल वर्षसँगै गएको पहिरोका कारण तीन घर परिवार विस्थापित भएका छन् भने छ घर पहिरोको उच्च जोखिममा रहका छन् । निरन्तरको वर्षात्का कारण बस्तीमाथिबाट आएको पहिरोले स्थानीय तीन घर बसाई सरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने छ घर पहिरोको उच्च जोखिममा रहेको छ ।

साँयकोट लामाचौर सडकको २०० भन्दा बढी माथिबाट खसेको पहिरोसहित आसपासको जमिन चिराचिरा परेपछि स्थानीय त्रसित भएको विस्थापित पवित्रा गौतमले बताए । ‘जुनसकै समयमा पनि पहिरोले घर पर्न सक्ने अवस्था छ”, उनले भने, घरमाथिको जमिन चिरा–चिरा पर्नुका साथै जमिन भाँसिएको, केही स्थानमा पहिरो गएका कारण विस्थापित भएका हौँ ।

गौतमसहित देवेन्द्र कार्की र डोलेन्द्र कार्कीको परिवार विस्थापित भएको हो । पहिरोका कारण पहिरो आसपासका भद्रबहादुर कार्की, देवबहादुर कार्की, बमबहादुर कार्की, कोपिला कार्की, हर्कबहादुर कार्की, रुपेश कार्कीको घर उच्च जोखिममा रहेको छ । पहिरो गएको स्थानमा पानीको मुहान रहेको र कमजोर भूभाग रहेका कारण जति बेला पनि बस्ती पुरिन सक्ने स्थानीयको भनाइ रहेको छ । बस्तीमाथिबाट खसिरहेको पहिरो रोकथामका लागि स्थानीय निकायले पहल गर्नुपर्ने स्थानीयले बताएका छन् । पहिरोका कारण सायकोटमा आपूर्ति भइरहेको ६५ घर परिवारको खानेपानीको पाइपसमेत बगाउँदा खानेपानीका समस्या भएको छ । रासस