
काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरामा उपचाररत एकजना ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो ।
उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए ।
अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यका अनुसार गण्डकी अस्पतालमा उपचार क्रममा कोरोनाका कारण ज्यान जाने उनी तेस्रो व्यक्ति हुन् । यसअघि स्याङ्जाका २ जना पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको थियो । पोखरा निवासी व्यक्तिको कोरोनाका कारण ज्यान गएको भने पहिलो घटना हो । गण्डकीमा हालसम्म यो सहित ५ जनाको मृत्यु भएको छ ।
