कोरोना जोखिम बढेको भन्दै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्द गर्न सरकारलाई आग्रह

-



     सफल आवाज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ साउन । उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने प्रस्थान बिन्दुमै अत्यन्त कडाई गर्न सरकारसँग माग गरेको छ । काठमाडौं घनावस्ती युक्तक्षेत्र रहेको हुँदा कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ त्यस्ता प्रस्थान बिन्दुबाट अनाधिकृतरुपमा समेत मानिसहरु प्रवेश गर्ने र गराउने कार्यलाई पूर्णतः नियन्त्रण गर्न सरकारसँग अनुरोध गर्ने राजधानीमा बसेको नगरपालिका फोरमको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘तेस्रो मुलुकबाट आउनसक्ने ठूलो संख्याको यात्रुलाई ध्यानमा राखी क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्नु उपयुक्त हुने भएकाले संघीय सरकारसँग माग गरेका छौँ ।’ यसअघि, फोरमले आइतबारमात्रै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी यही सुझाव दिएको थियो ।

यस्तै, बैठकले संक्रमण खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन पनि अनुरोध गरेको छ ।

उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारलाई साँझ विहान मात्र सिमित गरी निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भाद्र १५ गते सम्मको लागि निषेध गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

आर्थिक गतिविधि चलायमान गर्न लकडाउन खुकुलो बनाइएको र बाक्लो आवतजावत रहन गएका व्यापारिक क्षेत्र तथा सपिङ्ग महलहरु, होटल, रेष्टुरेष्ट आदिमा कोभिड—१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेको हुँदा सो क्षेत्रमा यथासक्य सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारवाहीको दायरामा ल्याउनु आवश्यक देखाइएको छ ।

संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउनुपर्ने तथा अन्यमा जोर विजोर तत्काल लागु गर्न संघीय सरकारसँग माग गरिएको छ ।

उपत्यका मेयर फोरमका अध्यक्ष काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुरुमा उपत्यका सिल गर्दा लामो समय यहाँका ४० लाख बढी नागरिकले लकडाउनको पूर्ण पालना गरेको स्मरण गराउँदै नाकामा कडाई गर्नुको अर्को विकल्प नभएको बताए ।  उनले सरकारले बन्दाबन्दी खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको बन्दाबन्दी नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताए ।