पोखरामा स्कुटर चोरीमा संलग्न ३ जना पक्राउ

-



     सफल आवाज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित



कास्की प्रहरीले स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न अभियोगमा ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको थालाजुङ घर भई हाल पोखरा नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल छन् । साथै अन्य २ जना किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार बुधबार फूलबारीमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।

पक्राउपछि अनुसन्धान गर्ने क्रममा अन्य थप २ चोरीको स्कुटरसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले हालै पोखरा गणेशटोलस्थित सुकमाया कामीको घरको कम्पाउण्डबाट चोरी भएको ज्ञानकुमारी गुरुङकोे ग६प ६३४२ नम्बरको रातो डियो स्कुटर पोखरा–१२ फूलबारी सफामार्गमा फेला पारेको थियो ।

त्यसैगरी साउन २६ गते राति पोखरा–४ रामकृष्ण टोलबाट चोरी भएको धनमाया गुरुङको नामको ग १७ प ३०५१ नम्बरको रातो डियो स्कुटर र साउन २७ गते राति १२ः३० बजेमा पोखरा–११ प्रगतिटोलबाट हराएको सिर्जना मल्ल ठकुरीकोे ग५प ३९१५ नम्बरको नीलो डियो स्कुटर पोखरा–२६ बुढीबजारबाट बरामद गरिएको हो ।

पक्राउ परेकाहरुको साथबाट चोरीका ५ थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ ।