
पोखरा, २९ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य सुरक्षाको विधि अपनाउन आग्रह गरेको छ ।
गण्डकी प्रदेशमा बैंकमा कार्यरत कर्मचारीहरुमा समेत कोभिड–१९ संक्रमण देखिएको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार ९ बुँदामा समेटेर प्रदेशका बैंक तथा वित्तीय संस्थामा संक्रमणको जोखिम न्यूनीकरणको उपाय अपनाउन आग्रह गरेको हो ।
जसअनुसार सेवाग्राही बैंकमा प्रवेश गर्नुपूर्व इन्फ्रारेड थर्मोमिटरले सेवाग्राहीको तापक्रमको मापन गर्नुपर्ने, सेवाग्राही तथा बैंकमा कर्मचारीले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, बैंकको प्रवेशद्वारमा सेनिटाइजर उपलब्ध गराउनुपर्ने, कन्ट्याक्ट टे«सिङ गर्नुपर्ने अवस्थामा सहयोग पुग्ने भएकोले सेवाग्राही तथा अन्य व्यक्तिको सम्पूर्ण विवरण लिने, विद्युतीय हाजिरी बन्द गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने सुझाव दिइएको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बारम्बार साबुनपानीले हात धुनुका साथै सेनिटाइजर प्रयोग गर्नुपर्ने, बारम्बार छोइने स्थान तथा सामान जस्तै ढोकाको ह्याण्डल, काउन्टरको सतह, टेबुल, कुर्सी, कम्प्युटर, स्क्यानर, विद्युतीय स्वीच, नोट गर्ने मेसिन लगायतलाई दिनमा कम्तीमा ३ पटक सरसफाइको सुनिश्चित गर्नुपर्ने भनिएको छ ।
सेवाग्राहीलाई बैंक तथा वित्तीय संस्थामा उपलब्ध कलमको प्रयोग सकेसम्म निरुत्साहित गरी आफूले नै कलम लिएर आउन प्रोत्साहित गरिएको छ ।
केही दिन अघिमात्रै पोखरामा एक बैंक तथा सहकारीमा कार्यरत कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको छ । गण्डकीमा बिहीबार सम्म कुल संक्रमितको संख्या १ हजार ६ सय ५६ पुगेको छ । मृत्यु हुने ५ पुगेका छन् ।
