सिन्धुपाल्चोकमा भीषण पहिरो : १३ घर पुरिए, १५ घाइते

-



     सफल आवाज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित


पहिरोको सांकेतिक तस्वीर ।


सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा शुक्रबार बिहान गएको भीषण पहिरोमा १३ घर पुरिएका छन् । पहिरोमा १५ घाइते भएका छन् ।

पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । यस्तै, जिल्लास्तरबाट घटनास्थलमा टोली जाँदै छ ।

शुक्रबार बिहान ६ बजे उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए । उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन । यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो भने अझै धेरै हराइरहेका छन् । रासस