
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विद्यमान आन्तरिक विवाद सहमतिको दिशामा टुंगिने संकेत देखा परेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार बालुवाटारमा भएको वार्तामा विवाद सहमतिमा टुंग्याउने निर्णय भएको हो ।
दुवै अध्यक्ष एक कार्यदल गठन गरेर त्यसबाट सुझाव लिने र त्यही सुझावका आधारमा विवाद अन्त्य गर्न सहमत भएका छन । जसअनुसार दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।
महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् । उक्त कार्यदललाई यथाशीघ्र सुझाव पेश गर्न म्याण्डेट दिइएको छ ।
स्रोतका अनुसार बैठकमा दुवै अध्यक्ष पार्टी एकतालाई थप मजबुत बनाएर अघि लैजान सहमत भएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजन अन्तर्वार्ताक्रममा नेकपा विवाद ५ दिनभित्र समाधान हुने संकेत गरेका थिए ।