बागलुङको निसीखोलामा पहिरो, ३ जनाको मृत्यु, १ घाइते

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित


पहिरोको सांकेतिक तस्वीर ।

पोखरा, ३१ साउन । अविरल वर्षापछि आएको पहिरोले घर पुरिदा बागलुङको निसीखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ । पहिरोले १ जना घाइते छन् ।

निसीखोला गाउँपालिका वडा ५ का हिरे बिकको घर भत्किदा उनका छोरा १४ वर्षीय वीरेन्द्र बिकको मृत्यु भएको छ ।

पहिरोमा स्थानीय ६ वर्षीय बालक प्रवेश बिकको पनि मृत्यु भएको बागलुङ प्रहरीले जनायो ।

त्यस्तै, हिरेकी ५३ वर्षीया श्रीमती दीलसरा बिक सामान्य घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

यस्तै, निसीखोला गाउँपालिका वडा ३ का चुच्चे बिकको घर पहिरोमा पर्दा उनकी ६० वर्षीया श्रीमती बली बिकको मृत्यु भएको छ ।

अविरल वर्षापछि शुक्रबार राति १ बजे घरमाथिबाट पहिरो जाँदा उक्त मानवीय क्षति हुन गएको बागलुङका प्रजिअ सुरेश न्यौपानेले बताए ।

आफ्नो घर भत्किएपछि आश्रयका लागि टेकमान बिकका छोरा प्रवेश बिक हिरेको घर गएका थिए । दुर्भाग्यवश् उनले पहिरोमा परी ज्यान गुमाएका छन् ।