
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप २ जनाको शव भेटिएको छ । यो सँगै सो पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
पहिरोमा शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । शनिबार दिउँसो ५ र साँझ २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सात महिनाका कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।
लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाएकाका परिवारलाई १ लाख
विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।
एक लाख २५ हजार आर्थिक सहयोग
पहिरोपीडितका लागि तामाङ कलाकार सङ्घले १ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । सङ्घले शनिबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
सङ्घको तर्फबाट १ लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार सहयोग गरिएको सङ्घका अध्यक्ष सञ्जीव वाइबाले जानकारी दिए । रासस