काँग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अबरुद्ध

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


प्रदेश सभा, फाइल फोटो


पोखरा, ३२ साउन । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेश सभाको बैठक आइतबार अबरुद्ध गरेको छ । आफ्नो मागबारे पटक–पटक सदन स्मरण गराउँदा पनि जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै काँग्रेसले सदन अवरुद्ध गरेको हो ।

कोराना नियन्त्रणसम्बन्धी समेटेर प्रस्तुत गरेको चारबुँदे संकल्पमा उल्लेखित विषय तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बाँडफाँटमा साँसदबीच समान व्यवहार गर्नुपर्ने काँग्रेसको माग छ ।

काँग्रेसको संकल्प प्रस्तावमा ‘एक घर एक पिसिआर’ व्यवस्था हुनुपर्ने, जिल्लामा स्थापित क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप गराइनुपर्ने, आइसोलेसन बेडको उचित प्रबन्ध गर्नुपर्ने र कोरोना संक्रमितको निधन भएमा उचित व्यवस्थापनको चाँजोपाँजो मिलाउनुपर्ने माग उल्लेख छ । सो प्रस्ताव यसअघि संसद्बाट बहुमतले अस्वीकृत भए पनि जनताले भोग्नुपरेका समस्या जस्ताको तस्तै रहेको भन्दै काँग्रेसले माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ ।

यस्तै, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष र समानुपातिक सांसदबीच समान व्यवहार हुनपर्ने काँग्रेसले जनाएको छ ।

आइतबारको सदनको सुरुआतमै बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संघीय लोकतन्त्रिक पद्दति अनुसार सरकार चल्नुपर्नेमा सांसदबीच नै फाटो ल्याउने गरी विभेदपूर्ण व्यवहार भएको भन्दै विरोध गरे । उनले आफूहरुको माग सम्बोधन नभएसम्म सदन अघि बढ्न नदिने अडान राखेपछि काँग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन् । त्यत्तिकैमा सभामुख नेत्रनाथ अधिकारीले आधा घण्टाको लागि सदन अबरुद्ध हुने जनाउ दिए ।

मुख्यमन्त्रीले पृथ्वीसुव्वा गुरुङले भने कानुनी रुपमा दुवै सांसद समान हैसियतका भए पनि व्यवहार हेर्दा त्यसो नहुने बताउँदै आएका छन् ।