पोखरामा एक साता निषेधाज्ञा गर्न सिफारिस

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



पोखरा, १ भदौ । पोखरा महानगरमा एक साता निषेधाज्ञाका लागि सिफारिस भएको छ । महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म एक साताका लागि निषेधाज्ञा लगाउन सिसिएमसीमा सिफारिस गरेको हो।

समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पछिल्लो समय पोखरामा कोरोना संक्रमित दर बढ्दै गएको र तीजमा बढी चहलपहल हुने हुँदा संक्रमण फैलिन नदिन हिजो (आइतबार) बसेको सर्वदलीय बैठकको सुझाव अनुसार यस्तो सिफारिस गरिएको सफल आवाजलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘पाँच दल सम्मिलित सर्वदलीय बैठकमा एक सातासम्म पोखरामा कडाखालको निषेधाज्ञा गर्नुपर्ने सुझाव अनुसार समितिको बैठकले भदौ ८ सम्म निषेधाज्ञा गर्ने गरी जिल्ला विपद् व्यवस्थापन समिति (सिसिएमसी) को बैठकमा पेस गर्ने निर्णय भएको हो । सम्भवतः आजै (सोमबार) राति १२ बजेदेखि निषेधाज्ञा हुन्छ । हेरौं उता (सीसीएमसी) बाट कस्तो निर्णय आउँछ ।’

आइतबार सर्वदलीय बैठकमा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा र राप्रपाका प्रतिनिधि सम्मिलित थिए ।

यता, सीसीएमसीको बैठक भने दिउँसो बस्ने तयारी रहेको छ ।

पोखरामा शनिबार १३ जनामा संक्रमण देखा परेकोमा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार थप १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार पोखरा १७ का ३० वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए । उनको परीक्षण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा नमुना परीक्षण भएको हो । गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय ३९ पुगेको छ।