पोखरामा भाेलि रातिदेखि भदौ ७ गते रातिसम्म निषेधाज्ञा

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



पोखरा, १ भदौ । पोखरामा भोलि रातिदेखि निषेधाज्ञा हुने भएको छ ।पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भदौ २ गते राति देखि ७ गते रातिसम्म निषेधाज्ञा हुने जानकारी दिए । तर जिल्ला विपद् व्यवस्थापन समिति (डीसीसीएमसी) काे निर्णय अाउन भने बाकी छ ।

पोखराका कुल ३३ मध्ये ३१ वटा वडासम्म कोरोना संक्रमण फैलिएको र चाडपर्वको बेलामा थप संक्रमण जोखिम रहेको भन्दै महानगरको अाज बिहान बसेको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले एक सातासम्म निषेधाज्ञा लगाउनुपर्ने भनी पोखरा महानगर र जिल्ला विपद् व्यवस्थापन समिति (डीसीसीएमसी) मा सिफारिस गरेको थियो ।

यद्यपि प्रदेशस्तरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा एक दिनको लागि समय दिनुपर्ने विषयमा छलफल भएअनुसार भाेलि राति १२ बजेदेखिमात्र निषेधाज्ञा गरिने भएको हाे। निषेधाज्ञाको समयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द हुनेछन् ।

प्रदेशस्तरको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गण्डकी प्रदेशका सबै जिल्लामा आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्नका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिने निर्णय गरेको छ।

यसैबीच, मुख्यमन्त्री सम्मिलित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले विभिन्न निर्णय गरेको छ ।
जसमा कोभिड १९ को बढ्दो जोखिमबाट बच्न अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कने, आवश्यक काम परी बाहिर निस्कनै पर्ने भएमा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य रुपमा गर्ने गराउने कार्यमा प्रदेश सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं स्थानीय तहहरु (वडा कार्यालयहरु) ले सबै नागरिकलाई सुसूचित गर्ने–गराउने, मापदण्डको पालना भए–नभएको विषयमा प्रभावकारी अनुगमन गरी नभएको पाइएमा सबै स्थानीय प्रशासन तथा सुरक्षा निकायहरुले कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा सहभागीहरू ।

यस्तै, नजिकिँदै गरेको कुशे औंशी (बुबाको मुख हेर्ने दिन), ऋषिपञ्चमी, तीज लगायत चाडपर्वहरु एवं सार्वजनिकस्थलमा सभा, सेमिनार, वार्षिकोत्सव, अधिवेशन जस्ता कार्यक्रम गर्न स्थानीय प्रशासनले आवश्यकता अनुसार रोक लगाउने निर्णय भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सामाजिक विकास मन्त्रालयमा आइसोलेसन कक्षहरुको व्यवस्थापनका लागि हालसम्म पठाइएको रकमको खर्च र थप रकम आवश्यक पर्ने भए सो समेतको यथार्थ विवरण यथाशीघ्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने, कोरोनाका कारण अस्पताल भर्ना भएका सबै बिरामीको अनिवार्य पीसीआर गरी सोको नतिजा नेगेटिभ आएमात्र डिस्चार्ज व्यवस्था मिलाउने निर्णय भएको छ ।

गण्डकी प्रदेशको प्रवेशबिन्दुमा राखिएका सुरक्षा निकायका चेक पोइन्टहरुमा हुने चेक जाँचलाई थप प्रभावकारी बनाउने, कोभिडका कारण निधन हुने व्यक्तिहरुको शव व्यवस्थापन गर्न जिल्लास्थित डीसीसीएमसीले सबै सरोकारवालासँग छलफल गरी शव व्यवस्थापन स्थल तोक्ने र सो को जानकारी प्रदेशमा पठाउने, पोखराभित्र स्वाब परीक्षणलाई थप प्रभावकारी बनाउन महानगरपालिका र स्वास्थ्य निर्देशनालयको संयुक्त टोली परिचालन गर्ने निर्णय भएको बताइएकाे छ ।