
पोखरा, १ भदौ । पोखरामा पत्रकारितामा क्रियाशील दुर्गा भण्डारी प्रेस काउन्सिल नेपालको कार्यबाहक (कावा) अध्यक्ष नियुक्त भएकी छन् ।
मन्त्रिपरिषद् बैठकले किशोर श्रेष्ठलाई हटाउँदै यसअघि सदस्य नियुक्त भण्डारीलाई सोमबार कावा अध्यक्ष जिम्मेवारी दिने निर्णय गरेको हो ।
पोखरामा साढे २ दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील भण्डारी कानून व्यवसायी समेत हुन् । उनी नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य एवं प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको पूर्व सचिव समेत हुन् ।
उनी यस क्षेत्रबाट प्रेस काउन्सिलमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन् ।
यसअघि अध्यक्ष नियुक्त भवानी बरालविरुद्ध मुद्दा परेपछि श्रेष्ठले कावाको भूमिका सम्हाल्दै आएका थिए । उनी सदस्य भने रही रहनेछन् ।
सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार मन्त्रिस्तरीय निर्णय अनुसार भण्डारीसहित अर्का पत्रकार दीपक पाण्डे सदस्य नियुक्त भएका थिए । पाण्डे पत्रकार महासंघ लेखा समितिका पूर्व संयोजक हुन् ।