कुलमानको कमालः विद्युत् चुहावट १५.२७ प्रतिशतमा सीमित

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित



काठमाडौं । प्रणालीमा रहेको विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ । विद्युत् प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार आव २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावट त्यसपछिका आवमा निरन्तर घटाएर अहिले १५.२७ प्रतिशतमा झारेको हो । चुहावटलाई आव २०७३/७४ मा २२.९, आव २०७४/७५ मा २०.४५, आव २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो ।
चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तीय रुपमा करिब रु आठ अर्ब बचत भएको छ । प्रणालीको कूल चुहावटलाई १० प्रतिशतभन्दा पनि तल लग्ने योजना बनाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यसैबीच गत आवमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्न भारतबाट आयात गरिएको विद्युत्को अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । “देश जतिबेला १४ घन्टासम्मको लोडसेडिङमा थियो, मुलुकभित्रको कूल विद्युत् खपतको करिव ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर विद्युत् खपत करिव ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशत करिब ३५ देखि ३७ प्रतिशतकै हाराहारीमा थियो”, कार्यकारी निर्देशक घिसिङले भने, “तर, गत आवसम्म आइपुग्दा कूल उपलब्ध विद्युत्कोे २२ प्रतिशत मात्रै आयात भएको छ, चालू आवमा यो घटेर ५ देखि १० प्रतिशत मात्र आयातको अंश रहनेछ ।”

आव २०७८/७९ बाट नेपाल विद्युत्मा पूर्ण आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने उनले बताए । आव २०७२/७३ मा साढे ३१ लाख, २०७३/७४ मा २६ लाख ९० हजार, २०७४/७५ मा २९ लाख ४० हजार, २०७५/७४ मा तीन करोड ४७ लाख र २०७६/७७ मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको हो ।

आव २०७२/७३ मा वार्षिक विद्युत् खपत तीन अर्ब ७१ करोड ५८ लाख युनिट थियो । अघिल्लो वर्षभन्दा अर्थात् आव २०७१/७२ भन्दा पनि त्यो वर्ष विद्युत् उपयोग करिब ०.७ प्रतिशतले कमी भएको थियो । यसरी प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १३१ युनिट मात्र थियो । तर, त्यसयता विद्युत् खपत लगातार बढेको छ ।

आर्थिक वर्ष २०७३/७४ को कूल विद्युत् खपत चार अर्ब ७७ करोड ३८ लाख युनिट, आर्थिक वर्ष २०७४/७५ मा पाँच अर्ब ५५ करोड ७३ लाख युनिट, आर्थिक वर्ष २०७५/७६ मा कूल खपत छ अर्ब ३३ करोड ८१ लाख र आर्थिक वर्ष २०७६/७७ को कूल खपत छ अर्ब ५२ करोड ८७ लाख युनिट पुगेको छ । यसरी हाल प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत् करिब २४५ युनिट पुगेको छ ।