
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका प्रमुखसमक्ष अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धता कार्यान्वयनको अवस्थाबारे प्रश्न उठाएका छन् ।
वर्षौंदेखि उठ्दै आएको ‘पोखरा अटो ल्याण्ड’ र ‘अटो पार्क’ निर्माणको विषय यसपटक पनि चुनावी नारामा मात्र सीमित हुने हो कि भन्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन् ।
महानगर प्रमुखलाई सम्बोधन गर्दै व्यवसायीहरूले अघिल्लो चुनावअघि दिइएको आश्वासन आजसम्म किन कार्यान्वयन हुन सकेन भनी जवाफ मागेका छन् । राज्यलाई नियमित कर तिर्ने, हजारौँलाई रोजगारी सिर्जना गर्ने र आफ्नै श्रम तथा सीपबाट परिवार पाल्ने व्यवसायीहरूको समस्यालाई महानगरले प्राथमिकतामा नराखेको उनीहरूको गुनासो छ ।
पोखरामा कार्यरत करिब ५ हजार २०० मेकानिकहरूको मत र योगदानको मूल्य चुनावको समयमा मात्र सम्झिने प्रवृत्तिप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताउनु भएकाे छ ।
कुनै राजनीतिक दलको विरोधमा नभई आफ्नो हक, अधिकार, रोजगारी र व्यवसायको सुरक्षाका लागि आवाज उठाइरहेको स्पष्ट पार्दै व्यवसायीहरूले अब मीठा आश्वासन नभई व्यवहारमा देखिने काम र सम्मानपूर्वक व्यवसाय सञ्चालन गर्ने वातावरण चाहिएको बताएका छन् । ५ हजार २०० मेकानिकको आवाजलाई बेवास्ता नगरी अटो ल्याण्डको मागलाई तत्काल कार्यान्वयन हुने ठोस योजनाका रूपमा अघि बढाउन उनीहरूले जोडदार माग गरेका छन् ।
किन आवश्यक छ पोखरामा व्यवस्थित अटो ल्याण्ड ?
पोखराजस्तो पर्यटकीय र तीव्र सहरीकरण भइरहेको सहरमा छरिएर रहेका वर्कसप र ग्यारेजहरूलाई एकै स्थानमा व्यवस्थित गर्नु समयको मुख्य माग बनेको छ । हाल सहरका मुख्य चोक, सडक किनार तथा आवासीय क्षेत्रमै ग्यारेजहरू सञ्चालन हुँदा एकातिर सवारी आवागमनमा अवरोध र ट्राफिक जामको समस्या बढेको छ ।
अर्कोतिर ध्वनि तथा वातावरणीय प्रदूषणले सहरको सौन्दर्यमा समेत असर पुर्याएको छ । व्यवस्थित अटो ल्याण्ड निर्माण हुन सकेमा सहरको ट्राफिक व्यवस्थापन सहज हुनुका साथै वातावरणीय स्वच्छता कायम राख्न ठूलो मद्दत पुग्नेछ ।
यसका साथै, अटो ल्याण्डको स्थापनाले व्यवसायी र सेवाग्राही दुवैलाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ । एउटै छानामुनि सवारीसाधन मर्मतसम्भार, पार्टपुर्जा खरिदबिक्री तथा प्राविधिक सेवा उपलब्ध हुँदा सेवाग्राहीले छिटो, छरितो र गुणस्तरीय सेवा पाउनेछन् ।
अर्कोतर्फ, भाडाको महँगो र साँघुरो ठाउँमा विस्थापनको त्रासबीच व्यवसाय गरिरहेका मेकानिकहरूले सुरक्षित, आधुनिक र प्रविधिमैत्री वातावरणमा निर्धक्क भई आफ्नो पेसा सञ्चालन गर्ने अवसर पाउनेछन् ।
विभिन्न समयका दस्तावेजहरू यहाँ छन्।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



