पोखरामा उपचारक्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


पोखरा, २ भदौ । पोखरामा गएराति उपचारक्रममा मृत्यु भएकी ५० वर्षीया महिलाको कोभिड–१९ पुष्टि भएको छ ।

सेवा अस्पतालमा गत शनिबार उपचारार्थ भर्ना भएकी तनहुँ व्यास नगरपालिका वडा १ की ती महिलाको सोमबार राति उपचारक्रममा मृत्यु भएको थियो । आएकै दिन उनको नमुना संकलन गरी क्षयरोय उपचार केन्द्रको ल्याबमा पठाइएकोमा मंगलबार बिहान कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सेवा अस्पताल स्रोतका अनुसार गत शनिबार दिउँसो १२ बजे उनी उपचारार्थ आएकोमा उनको अवस्था गम्भीर थियो । शनिबार साँझ स्वाब कलेक्सन गरिएकोमा सोको रिपोर्ट सोमबार बिहान पोजेटिभ देखिएको हो । उनमा निमोनियाको लक्षण देखिएको थियो ।

अन्य अस्पतालले भर्ना लिन नमानेपछि उनलाई सेवा अस्पतालमा भर्ना गरिएको बताइएको छ । शव अहिले पनि अस्पतालमै छ ।

अन्त्येष्टिका कारण प्रदेशस्तरीय सीसीएमसीको बैठक बसिरहेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । तनहुँ जिल्लाको भने पहिलो मृत्यु हो ।