नेपालमा एकै पटक हजार बढी संक्रमित फेला परेका छन् । गएको २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । यो संख्या एकै दिनमा संक्रमित हुने संक्रमितमा सबैभन्दा ठूलो हो । यसअघि एक हजार कटेका थिएनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या कुल २८ हजार २ सय ५७ पुगेको छ ।
काठमाडौं उपत्यकामा भने २ सय ५ जना संक्रमित फेला परेका छन् । तीमध्ये काठमाडौं जिल्लाका १ सय ३८, ललितपुर ५० र भक्तपुर १७ जना छन् ।
प्रवक्ता गौतमका अनुसार आज १३ हजार ४ सय ६१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितमध्ये ८५ जना निको भएका छन् । योसहित निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ ।
नेपालमा गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी ७ जनाको ज्यान गएको छ । योसहित कुल मृत्यु हुनेको संख्या १ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।
५ सय बढी संक्रमित हुने ५ जिल्लामा मोरङ, पर्सा, रौतहट, काठमाडौं र महोत्तरी छन् भने मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कुनै पनि संक्रमित छैनन् ।