कास्कीमा गएरातिदेखि निषेधाज्ञा सुरु, पोखरा बजार शून्य

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित



पोखरा, ३ भदौ । कास्कीमा गएरातिदेखि निषेधाज्ञा सुरु भएको छ । जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मंगलबार ५ दिनका लागि (भदौ २ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म) जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

निषेधाज्ञाकोे समयमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने भएकोले गण्डकी प्रदेश सदरमुकाम पोखरामा पनि मानिसको चहलपहल रोकिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र डिडडुल नपाउने भएपछि मानिसहरु घरभित्रै खुम्चिएका छन् ।

निषेधाज्ञाको आदेश अनुसार मानिसहरुको भेला हुन, भीडभाड गर्न, सभाजुलुस गर्न, जात्रा, महोत्सव तथा सबै धर्म, संस्कृति प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रममा रोक लगाइएको छ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, दमकल, शवबाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी बोक्ने सवारीसाधन, ग्यास तथा पेट्रोलियम पदार्थबाकेका सवारीसाधन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ड्यूटी जाने आउने प्रयोजनमा प्रयोग हुने सवारीसाधन, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारीसाधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारीसाधन, झण्डाबाहक सवारीसाधन, कुटनीतिक नियोगका सवारीसाधन, मालबाहक सवारीसाधन, प्रेसपास तथा परिचयपत्र बाहक संचारकर्मीका सवारीसाधन बाहेक यात्रुबाहक सार्वजनिक तथा निजी सवारीसाधन संचालन गर्न पाइने छैन ।

यसैगरी, विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यु बस्तु बिक्री गर्ने व्यावसायक मल, स्टोर तथा पसल, सिनेमाहल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, व्यूटीपार्लर, शैलुन, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फूटपाथ पसल लगायत सवा तथा स्थल खोल्न तथा संचालन गर्न पाइने छैन ।

स्वास्थ्य, सुरक्षा, संचार, विद्युत्, खानेपानी, औषधी तथा औषधीजन्य उत्पादन तथा बिक्री वितरण लगायत अत्यावश्यक सेवा तथा कार्य गर्ने बाहेकका सेवा तथा कार्य संचालन गर्न नहुने बताइएको छ ।

बैंक, वित्तीय संस्था तथा सहकारी बन्द हुनेछन् । तर एटीएम तथा अनलाइन बैंकिङ सेवा संचालनको प्रबन्ध गर्न बाधा नपर्ने भनिएको छ ।

क्वारेन्टिनका लागि तोकिएका होटल बाहेकका अन्य होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छैन ।

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दूध, डेरीजन्य पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम र बेलुका ५ देखि ७ बजेसम्म मात्र संचालन गर्न पाइनेछ ।

निषेधाज्ञाको अवज्ञा गरेको पाइए स्थानीय प्रशासन ऐन, २०२८, संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानूनबमोजिम कारबाही हुने आदेशमा उल्लेख छ ।

कोरोना नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ देखि साउन ७ सम्म १२० दिने लकडाउन गरेको थियो । अहिले पनि कास्की सहित विभिन्न जिल्लामा निषेधाज्ञा, लकडाउन, सटडाउन, सिल नाममा मानिसहरुको चहलपहल र सवारी आवागमन रोकिएको छ ।