जिप ठक्करबाट प्रहरी जवानको मृत्यु, हवल्दार घाइते

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित



पोखरा, ३ भदौ । पोखरामा बोलेरो जिप ठक्करबाट मोटरसाइकल चालक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।

पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा–५, मालेपाटनमा गएराति करिब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जीपले प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पाका २० वर्षीय चन्द्रबहादुर बगालेको मृत्यु भएको हो । यस्तै, मोटरसाइकल पछाडि सवार बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय चन्द्रबहादुर थारु घाइते भएका छन् ।

दुर्घटनापछि गम्भीर घाइते दुवैको उपचारार्थ गण्डकी मेडिकल कलेज, नयाँबजार लगिएकोमा बगालेको उपचारक्रममा १ बजेर ५० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । जीप र जीप चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

राति १२ देखि बिहान ६ बजेसम्मका लागि क्यूआरटी (¥यापिड रेस्पोन्स टिम) मा ती प्रहरीहरु गस्तीमा रहेका थिए ।