निषेधाज्ञामा पनि बैंक खुलै रहने, सम्भव भएसम्म डिजिटल कारोबार गर्न अनुरोध

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ भदौ । काठमाडौंमा आगामी १० गतेसम्मका लागि निषेधाज्ञा जारी हुदैछ । काठमाडौं, भक्तपुर र ललितपुर तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा जारी भए पनि बैंकहरु भने खुलै हुने भएका छन् । १२० दिन लामो लकडाउनमा पनि खुला रहेका बैंक यो निषेधाज्ञामा पनि खुला नै रहने भएका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकको सेवा नरोकिने बताए । अत्यावश्यकको सूचीमा बैंक रहेको भन्दै उनले सेवा जारी नै रहने जानकारी दिए ।

यद्यपि, सकेसम्म विद्युतीय कारोबार गर्दा राम्रो हुने उनले बताए । सार्वजनिक अपिल नै जारी गरेर बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिम थप बढेको कारण सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो ।

डिजिटल बैंकिङ्ग (मोबाइल/इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ । एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पनि संघले अनुरोध गरेको छ ।

डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमासम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गर्न संघले भनेको छ ।