मापदण्ड पुरा गरेर बैंकिङ सेवा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित



काठमाडौं ३, भदौ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर स्वास्थ्यको मापदण्ड पुरा गरेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ । त्यसैगरी सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा बैंकिङ सेवा प्रवाह गर्न राष्ट्र बैंकबाट बुधबार जारी पत्रमा भनिएको छ ।

कोरोना महामारी बढ्दै गएपछि उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले आज राति १२ देखि भदौ १० गते रातिसम्म निषेधाज्ञा जारी गरेका छन। उपत्यका बाहिरका अधिकांश जिल्ला प्रशासन कार्यालय र स्थानिय सरकारले पनि निषेधाज्ञा जारी गरेका छन ।

ग्राहकलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न र एटीएम मेसिनमा पर्याप्त नगद व्यवस्थापन गर्न समेत नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

उपत्यका र बाहिरका सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोली बैंकिङ कारोबार, नगद जम्मा र भुक्तानी , बैंक ट्रान्सफर, चेक क्लियरिङ आदीको व्यवस्था मिलाउन भनिएको छ ।

राष्ट्र बैंकले बैंकका खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क व्यक्तिको नम्बर आफ्नो वेवसाइटमा अद्यावधिक गर्न र बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस्न पनि निर्देशन दिएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै व्यापार व्यवसाय बन्द गर्ने सम्बन्धित प्रशासन कार्यालयले निर्णय गरिसकेका छन ।