नेपालमा थपिए ६ सय ८१ कोरोना संक्रमित, ६ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


काठमाडौं, ३ भदौ । नेपालमा बुधबार ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन । तीमध्ये २ सय ६१ महिला छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन । नेपालमा मंगलबार १ हजार १६ जनामा संक्रमण देखा परेको थियो ।

प्रवक्ता गौतमका अनुसार ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । योसँगै निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

नेपालमा गएको २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा कुल १ सय २० पुगेको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

५ सय बढी संक्रमित भएका जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन ।

यस्तै, शुन्य संक्रमित रहेका जिल्ला ४ वटा छन । तीमध्ये डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ छन ।

विश्वमा कोरोना देखिएको आज ठीक ८ महिना भयो । चीनको वुहानबाट ८ डिसेम्बर, २०१९ मा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखा परेको थियो । नेपालमा भने माघमा मात्र पहिलो पटक देखा परेको हो ।

यसैबीच, सरकारले हरेक निजी अस्पतालमा कुल बेडमध्ये एकतिहाइ बेड कोभिड–१९ को उपचारका लागि छुटयाउनुपर्ने नियम बनाएको छ । कोरोनाको उपचारका लागि बेड नछुटयाउने अस्पताललाई कोरोना ल्याबको सुविधा पनि नदिइने भएको छ ।