दुर्घटनाका घाइते प्रहरी हवल्दारको पनि मृत्यु

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित



पोखरा, ३ भदौ । पोखराको मालेपाटनमा गएराति भएको मोटरसाइकल दुर्घटनामा घाइते अर्का प्रहरी हवल्दारको पनि मृत्यु भएको छ । यसअघि मोटरसाइकल चालक प्रहरी जवान चन्द्रबहादुर बगालेको मृत्यु भएको थियो ।

पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा–५, मालेपाटनमा गएराति करिब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जीपले प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पाका २० वर्षीय चन्द्रबहादुर बगालेको मृत्यु भएको थियो ।

यस्तै, मोटरसाइकल पछाडि सवार बर्दिया घर भएका प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारु घाइते भएकोमा उनको पनि बुधबार दिउँसो मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते दुवैको उपचारार्थ गण्डकी मेडिकल कलेज, नयाँबजार लगिएको थियो । बगालेको उपचारक्रममा गएराति नै १ बजेर ५० मिनेटमा र थारुको बुधबार दिउँसो १ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । जीप र जीपचालक पोखरा ५, मालेपाटनका ३४ वर्षीय विशाल केसी प्रहरी नियन्त्रणमा छन ।

राति १२ देखि बिहान ६ बजेसम्मका लागि क्यूआरटी (¥यापिड रेस्पोन्स टिम) मा ती प्रहरीहरु डयुटीमा थिए ।