लगानीकोअवसर : आजबाट खुल्यो दुई कम्पनीको आईपीओ

-



     सफल आवाज    
     भाद्र ४ गते २०७७ मा प्रकाशित


काठमाडौं, भदौ ४ । दुई कम्पनीको आजबाट सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बिहीबारदेखि आईपीओ निष्काशनमा ल्याएका हुन् । रिलायन्स लाइफ इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार भदौ ४ गते देखि निष्काशनमा ल्याएको हो ।

इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको ६३ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले कम्पनीको आईपीओ भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस अवधिसम्ममा सम्पूर्ण शेयरको लागि आवेदन नपरेमा निष्काशन अवधि भदौ २२ गतेसम्म लम्बिनेछ ।

यसैबीच समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ ४ गतेदेखि आईपीओ निष्काशनमा ल्याएको छ। लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ। त्यस अवधिमा माग अनुसारको आवेदन नपरे ढिलोमा भदौ १८ गतेसम्म खुल्नेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।