प्रहरीले कर्मचारीलाई रोकेपछि आज काठमाडौंका बैंक खुलेनन्

- निषेधाज्ञा पालना गर्दै पोखराका बैंक तथा वित्तीय संस्था

-



     रेविका आचार्य    
     भाद्र ४ गते २०७७ मा प्रकाशित


तस्वीर : अशेष शाक्य


काठमाडौं, भदौ ४ । बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक सेवा क्षेत्रमा राखेर निषेधाज्ञामा पनि खोल्न भनिए पनि आज काठमाडौंका बैंकहरु खुलेका छैनन् । कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटोमा रोकेर दुःख दिएको भन्दैं बैंकर्स संघले आज काठमाडौं उपत्यकाका शाखाहरु नखोल्न भनेको हो ।

सुरक्षा अधिकारीहरुसँग बैंककै परिचयपत्रका आधारमा कार्यालय जान आउन दिने सहमति भए पनि बिहीबार विहानै बैंकका कर्मचारीलाई प्रहरीले रोकेको हो ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले प्रहरीले आफू मातहतका निकायलाई समन्वय नगर्दा बैंकका कर्मचारीहरु रोकिएको बताए । संघका अध्यक्ष दाहालले भने, ‘अब आज पनि बैंक खोल्दैनौं, मैले सबै साथीहरुलाई यहिँ भनेको छु।’ उपत्यका बाहिरका अधिकांश बैंकका शाखाहरू पनि खुलेका छैनन् ।

यसैबीच, नेपाल विकास बैंक संघका अध्यक्ष गोविन्दप्रसाद ढकालले काठमाडौंमा बैंकरहरुलाई प्रहरीले दुःख दिएको विषयमा प्रहरी र कर्मचारीबीच मिस अण्डरस्ट्याण्डिङ समस्या हुन सक्ने बताए । उनले राष्ट्र बैंकले खोल्न भने पनि कोरोना महामारीका कारण सत्प्रतिशत सेवा दिन नसक्दा ३० प्रतिशतमात्रै बैंकहरु खुलेको बताए । जिल्ला–जिल्लामा फरक–फरक मापदण्ड अनुसार कतिपय बैंकहरुले एटीएम, इसीसी तथा अनलाइन बैंकिङ कारोबारमात्र गरिरहेको उनले जानकारी दिए ।

नेपालभर विकास बैंकहरुको संख्या २० छ । तीमध्ये राष्ट्रियस्तरका ८ र क्षेत्रीयस्तरका १२ हुन् । ढकाल प्रमुख कार्यकारी अधिकृत रहेको गरिमा विकास बैंकको प्रधान कार्यालय काठमाडौंमा छ । उनका अनुसार गरिमाको हाल देशभर कुल ९२ शाखामध्ये कास्कीमा मात्र ९ शाखा संचालित छन् । पोखरामा भने निषेधाज्ञा पालना गर्दै एटीएम र इसीसी सेवामात्र उपलब्ध रहेको उनको भनाइ छ । सरकारले कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड अपनाउनुपर्ने भनेकोमा त्योभन्दा राम्रो ढंगले आवश्यक सचेतना अपनाउँदै त्यसको पालना गरेको उनले दाबी गरे।

निषेधाज्ञा पालना गर्दै पोखराका बैंक तथा वित्तीय संस्था

कास्कीमा जारी निषेधाज्ञा आदेशका कारण बैंक, वित्तीय संस्था तथा सहकारीहरु सबै बन्द रहेका छन् । ग्राहक सेवा बन्द भए पनि एटीएम तथा अनलाइन बैंकिङ सेवा भने जारी छ । गण्डकी प्रदेश राजधानी पोखरामा २वित्तीय संस्था ग्रिन डेभलपमेन्ट बैंक र पोखरा फाइनान्सकाे प्रधान कार्यालय र प्राय सबै बैंक, वित्तीय संस्थाका शाखा रहेका छन ।

ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्यले जिल्ला प्रशासन कार्यालय कास्कीको निषेधाज्ञा आदेश पालना गर्दै पोखरास्थित प्रधान कार्यालय र कास्कीका शाखाहरु बन्द गरिएको बताए । उनका अनुसार एटीएम सेवा तथा इसीसी क्लीलियरिङ सुविधा रहे पनि ग्राहक सेवा बन्द गरिएको हो । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंकको कास्कीमा मात्रै ७ शाखा छन् । बैंकका हाल १३ शाखा संचालित छन् ।

पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्समा भने इसीसीका लागि न्यूरोडस्थित प्रधान कार्यालय खोलिएको छ । बढीमा ३ जनासम्म कर्मचारी राखेर संचालन गर्न सकिने गरी जिल्ला प्रशासनले अनुमति दिएकोले आफूहरुले निषेधाज्ञा समयमा एटीएम सहित सो सुविधा दिएको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए । नेपाल क्लीयरिङ हाउस खोलेसम्म क्लीयरिङको काम हुने भएकोले हेड अफिस भएकोले आफूहरुले खोल्नुपरेको उनले बताए ।

एनआईसी एशिया बैंकको गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले आफूहरुले यस क्षेत्रमा राष्ट्र बैंक र स्थानीय निकायसँगको समन्वयमा काम गर्दै आएको बताए । २८ वटा कमर्सियल बैंकहरुको गण्डकी प्रदेशस्तरमा स्थानीय निकाय तथा प्रशासनसँग समन्वय गर्ने गरी शर्मालाई जिम्मेवारी तोकिएको छ । उनले भने, निषेधाज्ञाको समयमा ग्राहकलाई समस्या नपरोस् भनी सबै एटीएमहरुमा पर्याप्त डिपोजिट राखिएको र आवश्यकता अनुसार रिफिल गर्नुपरे प्रशासनसँग समन्वय गरी बैंक परिचयपत्र र चिठीको आधारमा पुनः रिफिल गर्न सकिने व्यवस्था मिलाइएको छ ।’ बैंक तथा वित्तीय संस्थाहरु पनि कोरोनाको जोखिम क्षेत्र रहेकोले आफूहरुले कोरोना महामारीको बेलामा मोवाइल बैंकिङ कारोबारलाई प्रोत्साहित गर्दैआएको उनले भनाइ छ । एनआईसी एशियाको देशभर ३ सय २६ शाखा छन् । गण्डकीमा मात्र ३१ शाखा संचालित छन् । बैंकले गण्डकीमा ४९ र पोखरा क्षेत्रमा २५ एटीएम काउण्टरमार्फत सेवा दिएको छ ।

पोखरामा दिनप्रतिदिन कोरोना संक्रमित दर बढ्दै गएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मंगलबार निषेधाज्ञा आदेश जारी गरेका हुन् । भदौ २ गते राति १२ देखि भदौ ७ गते राति १२ सम्म निषेधाज्ञा कायम गरिएको छ ।

निषेधाज्ञा आदेशकाे छैटौं नम्बरको बुँदामा ‘बैंक, वित्तीय संस्था तथा सहकारीहरुबाट प्रवाह हुने सेवाहरु संचालन गर्न, तर एटीएम तथा अनलाइन बैंकिङ सेवा संचालनको प्रबन्ध गर्न बाधा नपर्ने’ उल्लेख छ ।