भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र ५ गते २०७७ मा प्रकाशित



भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो ।

मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गाैलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए ।

उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा ३ जनाको मृत्यु भएको छ । अर्का १ जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो ।

जिल्लामा कोरोना सङ्क्रमित हुनेको संख्या बढ्दै गएको छ । रासस