काठमाडौं, ५ भदौ । नेपालमा शुक्रबार ८ सय ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमिमध्ये २ सय ९२ महिला र ५ सय ४६ जना पुरुष संक्रमित थपिएका हुन् ।
यस्तै, गएको २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भए । योसँगै १८ हजार २ सय १४ जना डिस्चार्ज भई घर फर्किएका छन् ।
यसैबीच, पछिल्ला केही दिनयता आईसीयूमा उपचार गर्नेहरु बढेको छ । हालसम्म १ सय ३३ जना आईसीयूमा छन् ।
भेन्टिलेटरमा वागमती प्रदेशका १५ जनाको उपचार भइरहेको गौतमले जनाए ।
एकैदिन ११ को मृत्यु
कोरोना कारण गएको २४ घण्टामा ११ जनाको ज्यान गएको छ । यो सहित मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० पुरुष र १ महिलासहित ११ जनाको मृत्यु कोरोनाका कारण भएको मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो समय मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौँ लगायतका जिल्लामा कोरोना संक्रमितको निधन भएको हो ।