पोखरामा ६ वर्षीया बालिकासहित ३ संक्रमित भेटिए

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ भदौ । पोखरामा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखा परेको छ । पोखरा वडा ९ की ६ वर्षीया बालिका सहित ६१ वर्षीया महिलामा शनिबार कोरोना पुष्टि भएको हो । त्यस्तै पोखरा वडा ४ का ३५ वर्षीय पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको हो । गएको २४ घण्टामा उनीहरुको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको थियो ।

यसरी शनिबार पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ११ जना संक्रमित फेला परेका छन् । जसमा बागलुङ सदरमुकाम बागलुङ नगरपालिका वडा ३ का २६ वर्षीय पुरुष, तनहुँको भीमाद ३ का ४८ वर्षीय पुरुष, आँबुखैरेनी ३ का २९ वर्षीय पुरुषमा पनि कोरोना देखा परेको छ । उनीहरुका पनि परीक्षण प्रदेश क्षयरोग केन्द्रमा नमुना परीक्षण भएको हो ।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा स्याङ्जाका २ जना पुरुषमा कोरोना देखा परेको छ । उनीहरुमा वालिङ १३ का ४५ वर्षीय र फेदीखोला २ का ३० वर्षीय पुरुष हुन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली ७ का ४४ वर्षीय पुरुष, वडा १७ का ४२ वर्षीय पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ । उनीहरुको क्षयरोग केन्द्रमै पीसीआर भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा कावासोती १६ का ४० वर्षीय पुरुषमा संक्रमण देखा परेको छ।

संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

गण्डकीमा कुल संक्रमित संख्या १ हजार ८ सय ५५ पुगेको छ । तीमध्ये ७ को मृत्यु भएको छ । कास्कीमा मात्रै संक्रमित हुनेको संख्या २ सय ७२ पुगेको छ । संक्रिय केश १ सय १० छन् । गण्डकीमा निको हुने दर हाल करिब ८६ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।