मलामीमा सामेल ९० प्रतिशतमा कोरोना

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



बुटवल, ६ भदौ । बुटवलमा मलामी गएका ९० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन १८ मा बुटवल ११, कालिकानगरकी ४९ वर्षीया महिलाको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो ।

सामान्य मृत्युजस्तै ठानेर ती महिलाका आफन्त, छिमेकी र नातागोता मलामी गएका थिए । दाहसंस्कार गरेर आएपछि कोरोनाको लक्षण देखिएको भन्दै साउन २२ गते मृतक महिलाका देवरको नमुना परीक्षण गरियो । तर पीसीआर चेक हेर्दा रिपोर्ट पोजेटिभ आयो ।

यसअघि भरपुर अस्पतालले किमोथेरापीक्रममा हृदयघातले मृत्यु भएको भन्दै ती महिलाको कोरोना परीक्षण नगरी पठाएको थियो ।

तर उनको मृत्युको ४ दिनपछि देवरमा कोरोना देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूले पनि लगातार परीक्षण थाले ।

हालसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीयसचिव मेघराज भट्टराईले जानकारी दिए।

मृतक महिलामा कोरोना संक्रमण थियो वा देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने यकिन हुन सकेको छैन। सो घटनापछि बुटवलमा कोरोनाको संक्रमण समुदायस्तरमा भूसको आगो जसरी फैलिएको भन्दै मलामी गएका सबैजना त्रासमा छन् । थपिएकामध्ये अधिकांश तीनै मृतक महिलाका आफन्त तथा टोलछिमेक र अन्त्येष्टिमा सहभागी छन् । उनको किरिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।

यसरी बुटवलमा दिनप्रतिदिन कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा हाल निषेधाज्ञा जारी छ ।