
चितवनमा थप एकजना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो ।
भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत हेटौडा ३ की ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । तर उनको पीसीआर रिपोर्ट नआउँदै मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ मा स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो ।
ती महिला कलेजोसम्बन्धी बिरामी थिइन् । उपचारका लागि साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । शल्यक्रिया गर्नुअघि भदौ १ मा स्वाब सङ्कलन गरिएको हो ।
यसैगरी, बिहीबार राति निधन भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान सङ्क्रमण पुष्टि भएको थियो । उनको पनि सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।