कास्कीमा ३ देखि ५ दिनसम्म निषेधाज्ञा थप्न सिफारिस

-



     सफल आवाज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


पोखरा, ६ भदौ । कास्कीमा अझै ३ देखि ५ दिनसम्म निषेधाज्ञा कायम गर्न सिफारिस गरिएको छ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूलसमितिको आइतबार बिहान बसेको बैठकले कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको भन्दै जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा थप ३ देखि ५ दिनसम्म थप्न सिफारिस गरेको हो ।

समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘जोखिम अझै कायम रहेकोले समितिको बैठकबाट कम्तीमा ३ देखि बढीमा ५ दिनसम्म अहिलेकै मोडालिटीमा कास्कीमा निषेधाज्ञा थप्न जिल्लामा सिफारिस गरेका छौं ।’

यसैबीच, आइतबार नै बस्ने जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले विभिन्न विकल्पमा रहेर छलफल गर्ने र सोअनुसार निषेधाज्ञा थप्नेबारे निर्णय गर्ने छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ २ देखि ७ गतेसम्मको लागि कायम राखेको निषेधाज्ञाको पाँचौ तथा अन्तिम दिन आइतबार राति १२ बजे सकिदैछ ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूलसमितिको बैठकले जिल्लामा निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलाउने, बैंक तथा वित्तीय संस्था मापदण्ड अनुसार खोल्ने, बढीमा १० जनाभन्दा बढी मानिस भेला हुन नपाइने लगायत विषयमा केन्द्रित रहेर पनि छलफल गरेको जनाइएको छ ।

पोखरामा शनिबार १६ संक्रमित थपिएकोमा आइतबार २ जना महिलामा संक्रमण देखा परेको छ । हालसम्म कास्कीमा संक्रमित संख्या २ सय ८५ पुगेको छ । तीमध्ये संक्रिय केश १ सय ६ छन् ।
त्यस्तै, गण्डकीमा कुल संक्रमित संख्या १ हजार ८ सय ७० पुगेको छ ।