कास्कीमा भदौ १२ सम्म निषेधाज्ञा थप

- सरकारी कार्यालय र बैंक खुल्ने

-



     सफल आवाज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ भदौ । कास्कीमा निषेधाज्ञा अवधि ५ दिन थपिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै भदौ १२ गते राति १२ बजेसम्म कायम रहने जनाएका हुन् ।

अत्यावश्यक काममाबाहेक घरबाहिर निस्कन र हिडडुल गर्न सहित अन्य जारी निषेधाज्ञा कायम रहनेछ ।

तर भदौ ८ देखि केही सेवा संचालनमा छुट दिइएको छ । जसमा नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसावधानीको पूर्ण पालना गरी गराई सरकारी कार्यालय तथा अत्यावश्यक सेवा तथा कार्यसंचालन गर्ने अन्य कार्यालय तथा संस्थानबाट न्यूनतम कर्मचारी उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले सेवाप्रवाह व्यवस्था मिलाउन बाधा पुग्न छैन भनिएको छ ।

यस्तै, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको समन्वयमा जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्वसावधानीको पूर्ण पालना गरी बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीको माग आधारमा न्यूनतम कर्मचारी उपस्थित गराई न्यूनतम शाखाबाट सेवा प्रवाह गर्न सक्नेछन् । सहकारी कार्यालय भने बन्द रहनेछन् ।

साथै निर्माण कार्य तथा उद्योगहरु संचालनमा पनि बाधा नपुग्ने निषेधाज्ञा आदेशमा उल्लेख छ । निर्माणसँग सम्बन्धित सामग्री बिक्री गर्ने पसलहरु भने साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने छ।

खाद्यान्न, फलफूल, तरकारी, माछा मासु दूध डेरीजन्य पसल बिहान ५ देखि ८ र साँझ ५ देखि ७ सम्म खोल्न सकिनेछ ।

यसअघि पोखरा महानगरपालिकाले कोरोना संक्रमितको संख्या बढ्दो रहेको भन्दै सोको न्यूनीकरणका लागि निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेको थियो । गत भदौ २ देखि जारी निषेधाज्ञा भदौ ७ अर्थात आज राति १२ बजे सकिदै थियो ।