बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित


बुटवल, ७ भदौ । बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६७ वर्षीया महिला र ३८ वर्षीय पुरुष हुन् । उनीहरुको आइतबार उपचारक्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका वडा १ की ६७ वर्षीया महिलाको दिउँसो १ बजे मृत्यु भएको हो । उनलाई उपचारार्थ साउन ३१ मा अस्पताल भर्ना गरिएको थियो । निजको श्वासप्रश्वासमा समस्या, दीर्घ रोगी, प्रेसर र मिर्गौला रोग भएको अस्पतालले जनाएको छ ।

उता, रुपन्देहीको समरीमाई गाउँपालिका वडा २ मुडुला निवासी ३८ वर्षीय पुरुषको दिउँसो १: १० बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार गरिँदै आएको थियो । उनको गत भदौ १ मा कोरोना पुष्टि भएको थियो ।