रुपन्देहीमा एक साता थपियो लकडाउन

-



     सफल आवाज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित



बुटवल, ७ भदौ । रुपन्देहीमा लकडाउन अवधि बढाइएको छ ।

समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि त्यसको नियन्त्रणको लागि साउन २९ देखि सुरु लकडाउन एक साता बढाइएको हो ।

बुटवलमा कोरोनाको जोखिम बढेपछि कडाइका साथ जारी गरिएको लकडाउन थप एक साता बढाइएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।

बुटवलमा आइतबार सम्पन्न जिल्लास्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिसिएमसी) को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधि बढाउने निर्णय गरिएको सुवेदीले बताए।

अहिले थप गरिएको लकडाउन बुटवल मात्र नभई रुपन्देहीका सबै पालिकामा कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि भदौ १ गतेदेखि जारी राखेको लकडाउन आइतबार सकिँदै थियाे ।

प्रजिअ महादेव पन्थले कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका सबै पालिकामा आइतबारदेखि भदौ १४ सम्मलाई लकडाउन थप गरिएको बताए।