गण्डकीमा आर्मी र प्रहरीमा कोरोना पुष्टि

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


पोखरा, ८ भदौ । गण्डकी प्रदेशमा २ आर्मी र १ प्रहरीमा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३७ वर्षीय पुरुष र तनहुँको व्यास नगरपालिका ५ का २६ वर्षीय संक्रमित पुरुष नेपाल आर्मी हुन् ।

यस्तै, म्याग्दीको वेनी नगरपालिकाका २० वर्षीय पुरुष नेपाल पुलिसमा कार्यरत रहेको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले सोमबार विज्ञप्ति जारी गरी पुष्टि गरेका हुन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा ३ सुरक्षाकर्मीसहित थप ८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी १ का २८ वर्षी पुरुष र ६ वर्षिया बालिकामा पनि कोरोना देखिएको छ ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ४ का २८ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिका वडा २ का २० वर्षका २ जना पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु सबै जनाको परीक्षण क्षयरोग उपचार केन्द्र,पोखरामा भएको हो । सबै जना संक्रमितहरु कन्ट्याक्ट टे«सिङमार्फत पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आइतबार पनि पोखरामा सेवा अस्पतालमा कार्यरत नर्स, सोही अस्पतालको आईसीयुमा उपचाररत बिरामी, ट्याक्सी चालकमा कोरोना देखिएको पुष्टि भएको थियो ।

कोरोनाबाट हालसम्म गण्डकीमा संक्रमित हुनेको संख्या १ हजार ८ सय ८८ पुगेको छ । तीमध्ये १ हजार ६ सय १२ अर्थात ८५ दशमलब ३८ प्रतिशत निको भइ घर फर्केका छन् । ७ जनाले ज्यान गुमाएका छन् ।