क्षेत्रीय हुलाक निर्देशनालय प्रदेश मातहत ल्याइने

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित


पोखरा, ८ भदौ । पोखरास्थित क्षेत्रीय हुलाक निर्देशनालयको घरजग्गा प्रदेश मातहत ल्याउन पहल थालिएको छ ।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पोखरा ७, शहीदचोकस्थित १ हजार ५ सय ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा र सो जग्गामा बनेको भवन प्रदेश सरकारलाई उपभोगका लागि स्वीकृत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गत भदौ ३ मा बसेको बैठकको निर्णय सोमबार सुनाउँदै सो जानकारी दिएका हुन् ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय बेरुजु फछ्यौट, अनुगमन तथा मूल्यांकन गर्ने समिति गठन गरेको छ । प्रमुख सचिवको संयोजकत्वमा गठित समितिका सदस्यमा आर्थिक मामिला सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन हेर्ने सचिव र प्रमुख प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रमुख गरी ४ सदस्यीय समिति गठन गरिएको हो ।

उता, भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक दरबन्दीका लागि रिक्त ५२ जना सव इञ्जिनियर र इञ्जिनियर राख्न स्वीकृत गरेको छ । सरकारले गत वर्ष पनि ८८ जना सव इञ्जिनियर र इञ्जिनियरहरु प्रक्रिया पु¥याएर दरबन्दी गरेको थियो ।

यस्तै, पोखरा–२७, लेखनाथस्थित सरुवा रोग अस्पतालमा एक सय बेड राख्नका लागि आवश्यक सृदृढीकरण र साधनस्रोत संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले गत महिना साविक लायन्स सामुदायिक अस्पताललाई कोभिड–१९ लक्षित गरी सरुवा रोग अस्पतालको रुपमा विकास गरेको हो ।