काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएला ?

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ भदौ । दिनहुँ २ सय बढी संक्रमित भेटिन थालेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि थप गर्ने वा नगर्ने भन्ने विषयको टुंगो दिउँसोमात्र हुने भएको छ ।

निषेधाज्ञा अवधि लम्ब्याउने वा टुंगाउने भन्ने विषयमा छलफल गर्न आज मंगलबार उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न दिउँसो ४ बजे बैठक बस्ने तयारी भएको जानकारी दिए । उनले छलफलपछि मात्र यो विषय टुंगाइने बताए । प्रजिअको बैठकअघि उपत्यकाका मेयरसँग छलफल हुने र सबैको राय सुनिसकेपछि समीक्षासहित उपयुक्त निर्णय लिइने दाहालले बताए ।

उता, भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यकामा संक्रमण बढ्दै गएकाले निषेधलाई लम्ब्याउनुपर्ने आवश्यकता देखिएको बताउँछिन् ।

काठमाडौं उपत्यकामा गत बुधबारदेखि लागू गरिएको निषेधाज्ञा अवधि भोलि बुधबार मध्यरातदेखि सकिँदैछ ।

यसैबीच, उपत्यका नगरपालिका फोरमको सोमबार संयुक्त बैठकले उपत्यकामा भदौ १५ सम्म अत्यावश्यकबाहेकका अन्य सेवा नदिने निर्णय गरेको थियो । उपत्यकाका स्थानीय तहहरुको संगठन उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको जानकारी काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले दिए ।

काठमाडौं उपत्यकामा साेमबार मात्रै २ सय २४ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना छन् ।