
काठमाडौं, भदौं ९ । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम कायमै रहेको भन्दै एक साताका लागि निषेधाज्ञा थप्न सिफारिस गरिएको छ ।
उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले हाल भदौ १० गते राति १२ बजेसम्म कायम निषेधाज्ञा अवधि १७ गतेसम्म थप्न सिफारिस गरेको हो ।
काठमाडौंका प्रजिअ जनकराज दाहालको अध्यक्षतामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त डिसीसीएमसी बैठक बसेको थियो । यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् ।
सिफारिस बमोजिम प्रजिअहरुको मंगलबार अबेरसम्म बसेको बैठकले बुधबारमात्र निषेधाज्ञा अवधि बढाउनेबारे निर्णय लिने जनाएको छ ।
यसअघि गत भदौ ३ गतेदेखि १० गतेसम्म निषेधाज्ञा जारी गर्ने तीनै जिल्लाका प्रमुख अधिकारीहरुले निर्णय गरेका थिए ।
यस अवधिमा काठमाडौं उपत्यकाका स्थानीय तहहरुको छाता संगठन उपत्यका नगरपालिका फोरमले कन्ट्याक ट्रेसिङलाई तीव्रता दिने बताएका छन् ।
फोरमको सोमबार बसेको बैठकले नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।