नेपालमा थपिए ८५५ कोरोना संक्रमित, ७ को मृत्यु

-



     सफल आवाज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ भदौ । नेपालमा गएको २४ घण्टामा ८ सय ५५ जना कोरोना भाइरस संक्रमित थप भएका छन् । यो सहित कुल संक्रमित संख्या ३३ हजार ५३३ पुगेको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ रहेका छन् ।

मंगलबार ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या कुल १९ हजार १ सय १९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । मृतकको संख्या १ सय ६४ पुगेको छ ।