काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा

-



     सफल आवाज    
     भाद्र १० गते २०७७ मा प्रकाशित


काठमाडौं, भदौ १० । काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा अवधि थपिएको छ । यसअघि घोषित भदौ ३ गतेदेखिको निषेधाज्ञा भदौ १० गते अर्थात आज राति १२ बजे सकिँदै थियो ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञा अवधि एक साता लम्बाइएको जानकारी काठमाडौंका प्रजिअ जनकराज दाहालले दिए ।

उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन मंगलबार नै सिफारिस गरेको थियो । त्यस्तै, सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, संचारबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

बैंक लगायतका निकायले न्यूनतम् कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने बताइएको छ ।

हाल देशका आधाजसो जिल्लामा कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा लगाइएको छ ।