नेपालमा कोरोना संक्रमणले ११ जनाको मृत्यु, ८८५ संक्रमित थपिए

-



     सफल आवाज    
     भाद्र १० गते २०७७ मा प्रकाशित


काठमाडौं, भदौ १० । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । तीमध्ये २ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको जानकारी मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएका हुन् । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।

गएको २४ घण्टामा ज्यान गुमाउने महिलामा मोरङका ४६ र भक्तपुरकी ५३ वर्षीया छन् । त्यस्तै, पुरुषहरुमा कैलालीका वर्ष ४५ र ५० का २ जना पुरुष छन् । महोत्तरीका ३ जना छन् । उनीहरुको उमेर वर्ष ६०, ७२ र ७५ रहेको छ । बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षी, बाराका ४१ र ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी, गएको २४ घण्टामा नेपालमा ८ सय ८५ जना कोरोना भाइरस संक्रमितका बिरामी थपिएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा ३ सय १ जना थपिएका छन् । तीमध्ये काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा एकैदिन ३ सय जना संक्रमित नाघेको पहिलो पटक हो ।

हाल क्वारेन्टाइनमा रहेको संख्या ९ हजार ८ सय ३२, भेन्टिलेटरमा १४ जना, आईसीयूमा १ सय ५१ जना रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

मुस्ताङ र हुम्लामा संक्रमित शुन्य हुँदा मोरङ, महोत्तरी, पर्सा, बारा, रौतहट, काठमाडौंमा ५ सय बढी सक्रिय संक्रमित संख्या रहेको छ ।