
जनकपुरधाम, १० भदौ । प्रदेश २ मा कोरोना सङ्क्रमण बढ़दै गएको अवस्थालाई दृष्टिगत गरी क्लोथ बैंक धनुषाले अक्सिजन बैंकको सेवा सञ्चालन गरेको छ ।
विपन्नका लागि लुगा सहयोग गर्दै आएको सो बंैंकले कोरोना सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै बेडको अभावमा होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई बैंकले अक्सिजन सिलिण्डरको व्यवस्थापन सेवा सञ्चालन गरेको छ ।
बैंकका अध्यक्ष राजीव झाका अनुसार घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराइरहेकालाई बैंकले निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको छ । घरमै चिकित्सकको निगरानीमा उपचार गराइरहेकामध्ये बैंकले अहिले २२ थान अक्सिजन सिलिण्डर उपलब्ध गराइ निःशुल्क चिकित्सकीय परामर्श सेवा पनि सञ्चालन गरिरहेको जनाइएको छ ।
चिकित्सक टोलीका सदस्य शैलेन्द्र झाले धनुषाका ३०, सप्तरीका दुई, सिरहाका दुई, महोत्तरीका दुई, सर्लाहीका चार र पर्साका १८ सङ्क्रमितले चिकित्सकीय परामर्श लिइरहेका जानकारी दिए । रासस