
पोखरा, ११ भदौ । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा पोखरा –११ निवासी ३२ वर्षीया युवतीको बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।
डा. आचार्यका अनुसार ती युवतीमा गत भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि आईसीयूमा राखेर उपचार हुँदै आएको थियो ।
यो सहित प्रतिष्ठानमा उपचारक्रममा मृत्यु हुने उनी पाँचौ संक्रमित हुन् । गण्डकीमा भने यो सहित मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
प्रदेशमा संक्रमित संख्या १ हजार ९ सय ५२ पुगेको छ । निको हुने १ हजार ६ सय ६५ रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
