
पाेखरा, भदाै १२ । नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखरामा हल्ट प्राइज हुने भएको छ। “फुड फर गुड” भन्ने नाराका साथमा पोखरामा डिसेम्बरको दोश्रो हप्ता आयोजना गर्ने गरी हल्ट प्राइजको तयारी सुरु भएको बताइएको छ ।
बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।
यस कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न क्याम्पस प्रतिनिधिका रुपमा वि.एच.एम पाँचौ सेमेस्टरका सर्वेन्द्र मल्ल छनौट भएका छन् । अभिमुखीकरण कार्यक्रम २०७७।५।१० गते नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज, पोखरा र पोखरा विश्वविद्यालयका आंगिक क्याम्पसका विद्यार्थीहरुको सहभागितामा अनलाइन (जुम) मार्फत सम्मन्न गरिएको छ ।
कार्यक्रममा क्याम्पस प्रतिनिधि सर्वेन्द्र मल्लले हल्ट प्राइजको स्थापना देखि यसको युवा वर्गमा हुने प्रभावकारीताका बारेमा अवगत गराए । इच्छुक विद्यार्थीहरुलाई कार्यक्रममा जोडिन आव्हान गरे । साथै कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले सहभागी विद्यार्थीहरुलाई प्रेरित गर्दै निरन्तर प्रयास, सकारात्मक सोच, उद्देश्यमुखी र अनुशासनलाई सदैब मनन गर्नु पर्नेमा जोड दिए । युवा समयमा आउने सामान्य सोच वा विचार नै भोलि राष्ट्र वा विश्व प्रसिद्घ सोच हुन सक्छ । उहाँले मोहमद युनिसका साधारण सोच र त्यसलाई सफल कार्यानवयनमा ल्याउन सफल हुँदा नोवल पुरस्कार पाउन सफल भएको भन्दै सम्पुर्ण विद्यार्थीहरुलाई नआत्तिन र निरन्तर लागि पर्न सल्लाह दिए । कार्यक्रममा हल्ट प्राइज, पोखरा विश्वविद्यालयका क्याम्पस डाइरेक्टर आशिष लामिछाने, सल्लाहकार प्रवेश गौतम, समुदाय प्रवन्धक विनायक पौडेल आमन्त्रित अतिथि थिए ।
पोखरा विश्वविद्यालयले २०१७ देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेजमा यो हल्ट प्राइज २०१९ देखि सन्चालन हुन लागेको र यस कार्यक्रम मार्फत विद्यार्थीहरुले उद्दमशिलताका नया योजनाहरु प्रस्तुत गर्न पाउने महत्वपुर्ण अवसर भएको प्रिन्सिपल रेग्मीले बताए ।